प्रिय अभिभावक, विद्यार्थी, शिक्षक तथा सम्पूर्ण सरोकारवालाज्यूहरु,
वि.सं. २०१७ मा स्थापना भएको जिरी माध्यमिक विद्यालय यस क्षेत्रकै एक ऐतिहासिक र अग्रणी विद्यालय हो। आफ्नो स्थापनादेखि नै यस विद्यालयले दोलखा, रामेछाप, ओखलढुङ्गा तथा सोलुखुम्बु लगायत देशका विभिन्न जिल्लाका विद्यार्थीहरूका लागि शिक्षाको उज्यालो फैलाउँदै आएको छ।
परिवर्तित समयको मागअनुसार विद्यालयले गुणस्तरीय र अत्याधुनिक शिक्षाका लागि विशेष योजना र क्रियाशीलता अपनाएको छ। हाम्रो लक्ष्य शिक्षामा पहुँच, समावेशीता र गुणस्तर सुनिश्चित गर्दै सबै विद्यार्थीहरूलाई आधुनिक युगअनुकूल शिक्षा उपलब्ध गराउनु हो।
हालै चिनीया सरकारको सहयोगमा निर्माण सम्पन्न अत्याधुनिक सुविधा सम्पन्न आवासीय भवन र भौतिक पूर्वाधारले विद्यालयको विकासलाई नयाँ आयाम दिएको छ। विद्यालय परिवारको तर्फबाट यस बहुमूल्य सहयोगका लागि चिनीया सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
हामीलाई प्राप्त यस भौतिक पूर्वाधारको अधिकतम् सदुपयोग गरी आजको आवश्यकता अनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउन हाम्रा सामु प्रसस्त चुनौती र अवसरहरु विद्यमान छन् । विद्यालयलाई विशुद्ध विद्याको मन्दिरको रुपमा हामी सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सकेमा हाम्रा नानीबाबुहरुको सुन्दर भविष्य निर्माण गर्न सफल हुने छौं ।
हामी विद्यालयलाई दक्ष जनशक्ति र योग्य व्यवस्थापनको माध्यमबाट देशकै नमूना शैक्षिक केन्द्रका रूपमा विकसित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ। साथै विद्यालयको स्वामित्वमा रहेको कृषियोग्य जमिनलाई प्रयोग गरी विद्यार्थीहरूलाई व्यावहारिक आर्थिक क्रियाकलापमा संलग्न गराउने योजनासमेत अघि बढाइएको छ।
विद्यालयको निरन्तर प्रगतिका लागि विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय, प्रदेश तथा संघीय सरकार र सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहयोग र सहभागिताको अपेक्षा गर्दछु।
अन्त्यमा, जिरी माध्यमिक विद्यालयलाई अझ उत्कृष्ट, समावेशी र समयानुकूल शिक्षालयका रूपमा रूपान्तरण गर्न सबैको साथ र सुझावको हार्दिक अपेक्षा गर्दछु।